काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धी विधेयक पेस नहुने भएको छ । बुधबार र सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरुबीच सहमति नजुट्दा प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धी विधेयक पेस नहुने भएको हो ।
साथै प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाइ समिति र अन्य विषयगत १० समितिका सदस्यहरूको नाम पनि पेस नहुने भएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद्सँग सम्बन्धी विधेयक कन्टेनमा छलफल गर्ने सन्दर्भमा केही विषयमा सहमति जुट्न नसक्दा आज संसदमा पेस हुन नसक्ने बताए ।
उनले संसदीय १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सदस्यहरू पनि आजको बैठकमा पेस नहुने बताए । उनले समितिमा सदस्यहरू पेस हुन नसक्नुमा नेपाली काँग्रेससहितका केही दलहरूले सदस्यहरूको नाम दिनका लागि बिहीबार सम्मको समय मागेको बताए ।
संवैधानिक परिषद्मा अध्यक्ष र उपस्थित संख्याको ५० प्रतिशत भन्ने कुराले समितिको बहुमतलाई अस्वीकार गर्न खोजेको देखिएको भन्दै अध्यक्ष अनिवार्य नै हुनुपर्ने, अध्यक्षले नमान्दा कुनै निर्णय नै नहुने, जस्तो गरी आएको प्रस्ताव सच्याउनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे । सांसदका समितिहरू बनाउने कुरामा कुनै पनि बहानामा ढिलो गर्न नहुने पनि स्पष्ट पारे ।




