काठमाडाैं । प्रदेश-२ को राजधानी, नामकरण र भाषालाई लिएर विपक्षी दल नेकपा र कांग्रेस एक भएका छन् । दुवै दलले शुक्रबारको संसद् बैठक संयुक्त रूपमा अवरोध गरे । प्रदेशको राजधानी, नामकरण तथा भाषामा नेकपा र कांग्रेसको समान धारणा देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा जनकपुरबाट हदिश खुद्दारले लेखेका छन्।
नेकपा र कांग्रेसका सांसदले शुक्रबारको प्रदेश सभामा सरकारको भनाइ र व्यवहार फरक देखिएको भन्दै बैठक अवरुद्ध गरेका थिए । प्रदेश सरकार गठन भएको झन्डै नौ महिना भइसक्दा पनि राजधानी, नाम र भाषाको विषयमा औपचारिक छलफल नगरेको दुवै दलको आरोप छ । नेकपाले प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने अडान राखेको छ । त्यस्तै मैथिली, भोजपुरीलगायतलाई प्रदेशको भाषा बडाउनुपर्ने उसको भनाइ छ ।
यता कांग्रेस संसदीय दलको नेता रामसरोज यादवले प्रदेशको नाम, राजधानी र भाषाको विषयमा नेकपासँग आफूहरू सहमत हुन सक्ने बताए । ‘अन्य विषयमा नेकपा र हाम्रो धारणा बिल्कुल फरक छ,’ नेता यादव भने, ‘तर, प्रदेशको राजधानी, नामकरण र भाषामा नेकपासँग सहमत हुन सकिन्छ।’ नेकपाका प्रदेश सांसद तथा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले प्रदेशको राजधानी जनकपुर, भाषा मैथिली र नामकरण मिथिला–भोजपुरालगायत विषयमा पार्टीभित्र छलफल भइरहेको बताए ।
उनले भने, ‘प्रदेशको नामकरण, राजधानी र भाषाको विषयमा सरकारले औपचारिक प्रस्ताव वा छलफल नै गरेको छैन, सरकार यी विषयमा विधेयक ल्याउन डराइरहेको छ । यसअघि बजेट ल्याउने क्रममा पनि नेकपा र कांग्रेसले संयुक्त रूपमा प्रदेश सभामा सरकारको विरोध गरेका थिए । त्यतिवेला प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एकदेखि डेढ करोडको आयोजना ल्याउन गरेको भद्र सहमति पूरा नगरेको विपक्षीको आरोप छ ।
विपक्षी दलहरूले संसद् नै अवरुद्ध गरेपछि प्रदेश सरकारले खुलाउन पहल थालेको छ।
सत्ताधारी दलको अडान ‘मधेस प्रदेश’
सत्तासाझेदार संघीय समाजवादी फोरम र राजपा प्रदेशको नाम मधेस हुनुपर्ने अडानमा छन् । मधेस आन्दोलनको जगमा संघीयता आएकाले सो नाम नै उपयुक्त हुने उनीहरूको अडान छ ।
तर, विपक्षी कांग्रेस र नेकपा भने मधेसमा आठ जिल्ला मात्रै नभई अन्य जिल्ला पनि पर्ने हुनाले मिथिला–भोजपुरा राख्नुपर्ने अडानमा छन् । प्रदेश सभामा सत्तासाझेदार दलको दुईतिहाइ बहुमत नभएकाले सहमतिविना राजधानी र नाम तोकिने अवस्था छैन ।
प्रतिकृया दिनुहॊस