आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आज शुरु हुँदैछ । उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने परम्परा छ ।

सोहीअनुसार आज साँझ ५ बजे जमलको तीनधाराबाट तानेर शहरका विभिन्न स्थान परिक्रमा गर्दै भोटाहिटीसम्म पुर्‍याइने रथजात्रा मुल व्यवस्थापन समितिले जनाएको छ ।

सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । पहिलो दिन महिलाले मात्रै रथ तान्नेछन्। रथलाई भोलि असनसम्म र पर्सि तेस्रो दिन मरुहिटी र जैसीदेवल हुँदै लगनटोल पुर्‍याइनेछ ।

अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य र दीर्घायु प्राप्त हुने विश्वास छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप