काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ ।
मतदान प्रक्रियामा २६२ सांसदको उपस्थित थियो । प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । प्रधानमन्त्री प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए । त्यसबेला प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए । प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले कांग्रेससहित दस दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन् । एमालेलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो ।



