जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टी (जसपा) लाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् ।

शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शन गर्दै उनले यस्तो बताएका हुन् । उपसभापति खड्काले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताएका छन् ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नु हुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौं । दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’

उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे । उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने बताएका छन् । उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गरे ।

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताए । उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने बताए । उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने बताका छन् ।
उपसभापति खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गरे । उपसभापति खड्काले द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप