काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले महिला सशक्तीकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत सैद्धान्तिक एवं व्यावहारिक ज्ञानसहितको निःशुल्क तालिम प्रदान गरिने बताइएको छ ।
उक्त तालिममार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारीसाधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्नुका साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिएको छ । यस्ता अभियानहरुले महिला सशक्तीकरणमा जोड दिँदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिएको बताइएको छ ।
आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, “निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ । यो निःशुल्क तालिम प्रदान गरेर हामी महिलाहरूलाई सशक्तीकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं ।”
यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ । तालिमको अन्त्यमा सहभागीहरूले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछन् । यो प्रमाणपत्रले सम्भावित रोजगारदाताहरूलाई आफ्नो नयाँ प्राप्त सीपहरू प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ ।




