काठमाडौं । महिला सशक्तीकरण र लैङ्गिक समानताले समाजको विकासलाई सघाउने भन्दै कोका–कोलाले महिला सशक्तीकरण र लैङ्गिक समानतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । गतवर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलतापश्चात कोका–कोलाले यो वर्ष पनि सक्षम २.० सञ्चालन गर्ने भएको हो
किराना पसल तथा खाजा घरहरू सञ्चालन गर्दै आइरहेका एक हजार महिला व्यवसायीलाई एकदिने तालिममार्फत व्यवसाय सञ्चालन एवं अन्य आवश्यक सीपहरू सिकाएर सुदृढ एवं सशक्त गर्ने उद्देश्यले सक्षम २.० को सुरुआत गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने उनीहरूको क्षमताको विकास गर्ने लक्ष्यका साथ गत वर्षको मार्चमा सक्षम कार्यक्रम ल्याइएको बताइएको छ ।
जुन यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको थिम “डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी”लाई समर्थन गर्ने लक्ष्यसँग सम्बन्धित रहेको पनि बताइएको छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “कोका–कोला कम्पनी विश्वास गर्दछ कि समाजको समग्र विकासका लागि महिला सशक्तीकरण र लैङ्गिक समानता अत्यन्तै महत्त्वपूर्ण छ । फाइभ बाई ट्वेन्टी, स्टार र गतवर्षको सक्षमले सहभागीहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउन सफल भएको थियो । हामीलाई आशा छ कि सक्षम २.० ले पनि अरु एक हजार महिला व्यवसायीहरुको सफलताको नयाँ कथा रच्नेछ । र, लैङ्गिक न्यायपूर्ण र डिजिटलरूपमा सशक्त समाज निर्माण गर्न योगदान गर्न सक्षम हुनेछ ।”
कोका–कोलाले २०१० मा विश्वव्यापी रूपमा महत्वाकांक्षी फाइभ बाई ट्वेन्टी कार्यक्रम सञ्चालन गरेको थियो, जसले २०२० सम्म आफ्नो भ्यालू चेनका ५० लाख उद्यमीहरूलाई आर्थिक रूपमा सशक्तीकरण गर्ने लक्ष्य राखेको थियो ।




