काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कायम गरिएको संघीय संसद् मतदान केन्द्रमा पार्टी अध्यक्ष एवं संघीय सांसद ओलीले केहीबेरअघि मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘नयाँ निर्वाचित हुने राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने होइन । देशप्रति वफादार भएर काम गर्नुपर्छ । वर्तमान राष्ट्रपतिको भूमिकालाई अंक दिनुपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नु भएको छ । अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।’




