सुधारिएको लैङ्गिक विकास सूचकांक एमाले सरकारका कामको उपलब्धि : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागितामा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा महिलाहरूको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताएका छन् ।

‘ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको नतिजास्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको उनले उल्लेख गरेका छन् ।

  • पूर्णपाठ 

महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रूपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ । संसारभरका महिलाहरूलाई समानताको हक अधिकार स्थापित गर्ने यस प्रेरणादायी दिवसका अवसरमा म सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख र समृद्धि एवं सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा महिलाहरूको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको छ । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरूको समान सहभागिता अत्यन्त जरुरी छ ।

विगतमा हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको थियो । नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको छ । आज स्थानीय तहमा हजारौं महिलाहरूको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको छ । लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फवाट भएका नीतिगत, कानूनी, संरचनागत एवम् प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उल्लेखनीय रूपमा बृद्धि भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सूचकहरूमा पनि सकारात्मक सुधार भएका छन् ।

यद्यपि समाजको न्युन चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरू कायम छन् । कानूनी प्रवन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरूलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ । यस्तो जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरू कायमै छन् । महिलामाथि यौन हिंसाजस्ता जघन्य अपराधका घटना हामी दिनदिनै सुन्न र भोग्न वाध्य छौँ । अज्ञानता र कुरीतिको आड लिएर हुने खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन् । यसले महिलामाथि दुव्र्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ । यसखाले अपराधलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रूपमा जनचेतना जगाउनु आवश्यक छ । यस्ता विभिन्न प्रकार र स्वरूपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरूलाई जरैदेखि निर्मूल गर्न अपराधीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानूनी व्यवस्था तथा समाजमा नैतिक जागरण र सचेतना अभियान चलाउनु आवश्यक छ ।

नेकपा (एमाले) मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी हो । हाम्रै सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्वन्धी कानूनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय बृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको थियो । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो गन्तव्यमा सामाजिक न्याय महत्वपूर्ण आयाम हो । राजनीतिक अस्थिरता मार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि नेकपा (एमाले)ले अघि बढाएको अभियान कमजोर बनाउने दुश्प्रयास अहिले पनि जारी छ । अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्थतन्त्रलाई धरासायी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरू बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ । न्यायप्रेमी जनसमुदायको साथ लिएर हामी यसलाई अझै अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले)को यस अभियानलाई सफल बनाउन रचनात्मक ढंगले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरूमा म हार्दिक अपिल गर्दछु ।

महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मुलतः शिक्षामा जोड दिंदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा म हार्दिक आह्वान गर्दछु । र, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस