प्रकाशमान दाबी- बिथोलिएको राजनीति सही ट्र्याकमा आयो

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ट्याकमा आएको बताएका छन् । धनुषा कांग्रेसको पार्टी कार्यालयमा बिहीबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा उनले राजनीति सही बाटोमा आएको बताएका हुन् ।

केही समय असहजतातर्फ राजनीति अघि बढे पनि अहिले जनताको जनमतअनुरूपको राजनीतिक परिस्थिति निर्माण भएको सिंहको भनाइ थियो । अब आठ दलीय गठबन्धनको समझदारी अनुरूप मुलुक अगाडि बढ्ने उनले बताए ।

राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको भन्दै सिंहले राष्ट्रपति निर्वाचनबारे कुनै पनि दुबिधा नराख्नसमेत आग्रह गरे। उनले सरकार पनि आठ दलबीचको समझदारीबमोजिम अगाडि बढ्ने बताए । अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेकाले बिग्रिएको परिस्थितलाई सम्हालेर जानुपर्ने चुनौती रहेको भन्दै सिंहले सरकारको पहिलो काम नागरिकमा आशा जगाउनु पर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेस भएर मुलुकका तमाम समस्याको समाधान निकाल्न लाग्नु पर्ने बताए । मुलुकलाई संकट पर्दा काम गरेर देखाएको इतिहास कांग्रेसजन माझ रहेकाले फेरिपनि प्रमाणित गरेर देखाउनुपर्ने उनको भनाई छ । कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, गुरु बराल, धनुषा जिल्ला सभापतिलगायत पार्टी पदाधिकारीहरूको सहभागिता थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री