काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि चैत ५ गतेसम्म आचारसंहिता कायम रहनेछ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ । त्यसैलाई मध्यनजर गर्दै आयोगले आचारसंहिता लागु गरेको हो ।
आयोगको निर्णय अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई आचारसंहिता लागू हुनेछ ।
संवैधानिक व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ । स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ता भइसकेको छ ।
राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ ।





