नारायणहिटी सङ्ग्रहालयमा आजदेखि ई-टिकेटिङ सेवा

काठमाडौं । नारायणहिटी सङ्ग्रहालय तथा नारायणहिटी दरबार सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज मंगलबारदेखि ई–टिकेटिङ सेवा शुरू गर्ने भएको छ । सङ्ग्रहालय स्थापना भएको १४ वर्ष पूरा गरी १५ वर्षमा पुगेको अवसरमा ई–टिकेटिङ सेवा शुरू गर्न लागेको हो ।

सङ्ग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले कार्यालयलाई पेपरलेस बनाउने योजनाअनुसार ई–टिकेटिङ सेवा शुरू गर्न लागेको जानकारी दिए । व्यवस्थित रूपमा टिकटका बिक्रीवितरण गर्न र अवलोकनकर्ताको सहजताका लागि सो व्यवस्था गरेको समितिको दाबी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले ई–टिकेटिङ सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । सङ्ग्रहालय स्थापना दिवसको अपलक्ष्यमा आज मंगलबार दिउँसो आयोजना हुने कार्यक्रममा सङ्ग्रहालयका सबै पूर्वप्रमुखलगायतको उपस्थिति रहनेछ ।

नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।

पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी थापाले जानकारी दिए । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप