काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले लोकतन्त्र भनेको जे पनि बोल्ने, विकास र समृद्धिका कुनै काम नगर्ने र भाँडभैलो गर्न पाउने व्यवस्था नभएको बताएकी छन् ।
पछिल्लो समय नेपालमा जसले जसलाई जे आरोप लगाए पनि हुने, प्रमाणित गर्नु नपर्ने, विकास निर्माणका कुरा मात्रै गर्ने तर सिन्को पनि नभाँच्ने र अस्थिरता निम्त्याउन भाँडभैलो मात्रै गर्ने प्रवृत्तिलाई नेपालमा राजनीतिक नेतृत्व र मिडियाले लोकतन्त्रको रुपमा परिभाषित गरिहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएकी हुन् ।
लोकतन्त्र संवाद केन्द्र काठमाडौँले प्रज्ञाप्रतिष्ठान कमदादीमा आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सबै मानिसलाई समयको सीमा छ, प्रकृतिमा सबै चिजवस्तुको समयसीमा छ, आयु छ,’ उनले भनिन्, ‘समय छँदै हामीले काम गरेर देखाउन लाग्ने हो भने आफ्नै जीवनकाल भित्र देश विकासको काम गर्न सक्छौँ ।’
विचारको राजनीतिक देशमा मर्दै गएको भन्दै उनले भनिन्, ‘कुन केवादी, कुन के धारी हुन्, एकै रातमा सबै एकै बन्ने राजनीतिक संस्कारले हामीलाई कता पुर्याउला ?’
उनले नेपाली राजनीतिमा कसैले कुनै क्रिया गर्ने र त्यसको प्रतिक्रियामा बाँकी सबै पछि लाग्ने प्रवृत्ति मौलाएको भन्दै यो सही नभएको बताइन् । क्रिया–प्रतिक्रियाले हामीलाई विकास र समृद्धि नदिने बताए ।



