काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई बेलाबखत नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुने गरेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा बिहानी निराशा/बिहानी दृढता भनेर त्यस्तो लेखेका हुन् ।
‘सबै हेर्दा र बुझ्दा,म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत। दुई पटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ,’ उनले लेखेका छन्, ‘तर फेरी ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न सक्थ्यो र? “यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन” भनेर त्यसै भनेको कहाँ हुँ र! (बिहानी निराशा/बिहानी दृढता)’
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग मिश्र पराजित भएका हुन् । मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि सिंहले नै मिश्रलाई पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ रहेको थियो ।




