काठमाडाैँ । झापाको दमक–६ मा रहेको नमुना बजारमा आगलागी हुँदा ९ वटा पसल जलेका छन् । आगलागीबाट जुत्ता तथा कपडाका पसल जल्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले आज (आइतबार) बिहान करिब २ बजेतिर अचानक आगलागी शुरु हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको जानकारी दिए । आगलागीबाट जुत्ता–चप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
आगलागी कसरी भयो यकिन कारण खुल्न सकेको छैन । तर, विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताएका छन् । क्षतिको विवरण संकलन भइरहेको उनले बताए । दमकसहित कमल, गौरादह, कानेपोखरीका दमकल, प्रहरी र स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि आगो निभाइएको थियो ।



