नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

काठमाडाैं । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’ वर्गको बैंकमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ ।

साधारणसभाले संस्थापक शेयरधनी समूहतर्फ ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ । ​नबिल बैंक २०७८/७९ मा निजी क्षेत्रका बैंकमध्ये उच्चतम मुनाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपश्चात् बैंकको चुक्ता पुँजी यस वर्ष २७ अर्ब नाघेको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिलाई गतिशील बनाउन, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए ।

उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे । बैंकले स्थापनाकालदेखि हालसम्म १९ अर्बभन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ । ​

नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटीएम र ८ वटा रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँगै अघि बढ्ने विश्वास राखेको छ । बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायप्रति सभाबाट आभार प्रकट गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री