काठमाडाैं । मुक्तिनाथ विकास बैंकले १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्यो ।
बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरूको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा उद्घाटन गरेको छ । ती नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरूको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका हुन् ।
सो अवसरमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भावी रणनीतिका बारेमा प्रकाश पार्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न अभियानहरू सञ्चालनमा ल्याएको जानकारी दिए ।
पोखरेलले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन, विभिन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयहरूमार्फत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणका लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनका लागि सहयोग, वृद्धवृद्धा, अनाथ तथा बालबालिकाहरूको क्षेत्रमा कार्य गर्ने मानव आश्रमहरूमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सम्बन्धी सामग्री हस्तान्तरण र न्यानो कपडा वितरणजस्ता कार्यहरू गरिएको बताए ।




