नेता गुरुराज घिमिरे भन्छन्- ‘देउवाले सभापति र दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका  नेता गुरूराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । दुई वर्ष लामो सत्ता गठबन्धन भत्काउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिल्न पुगेपछि घिमिरेले देउवाको राजीनामा मागेका हुन् ।

मंसिर ४ को चुनावमा सत्ता गठबन्धनले करिब बहुमत ल्याएको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा प्रचण्डले ठूलो झट्का दिएपछि देउवा पार्टीभित्रैबाट घेराबन्दीमा परेका हुन् । राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैँले राख्न खोज्दा गठबन्धन त भत्किएको छ नै सरकारको खेलमा कांग्रेस पूरै एक्लिएको छ। ओलीको नेतृत्वमा प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि अब दुईतिहाइ जुटाउने प्रयास भइरहेको छ ।

घिमिरेले अब देउवाले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद त्याग्नुपर्ने बताए । ‘नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ’, उनले भनेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ।’

यदि देउवाले राजीनामा नदिएमा चाँडै पार्टीको विशेष महाधिवेशन बोलाइने पनि घिमिरेले बताएका छन् । मंसिर ४ को निर्वाचनमा पहिलो दल बनेको कांग्रेसले प्रचण्डलाई बुझ्न नसक्दा अहिले एक्लिँदा देउवामाथि दबाब बढेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री