रवि चुनावी खर्च ११ लाख ८१ हजार, कुनै सम्मान/पुरस्कार नलिने घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका हुन् ।

साथै उनले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिने उद्घोष गरेका छन् । उनले शनिबार बिहान फेसबुक पेजमार्फत यस्तो घोषणा गरेका हुन् । केही दिन पार्टीको कामले काठमाडौँ आउने र त्यसपछि चितवनमा नै कार्यालय सञ्चालनमा ल्याएर जनताको सेवामा लाग्ने उनको भनाई छ ।

  • यस्तो छ रवि लामिछानेको १० बुँदे उद्घोष

आदरणीय चितवन–२ का आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू,
आजबाट विजयको खुसीयाली मनाउने सम्पूर्ण कार्यक्रमहरू सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईँले दिनुभएका शुभकामनाहरूलाई यहीँबाट एकमुष्ट धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुँदागत रूपमा राखेँ ।

१. मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब जोडिएको छैन)
२. कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु ।
३. सबै संघ–संस्थाहरूको हकहितको नीतिगत काममा दिलोज्यानले लाग्नेछु । तर, ती कार्यक्रमहरूको उद्घाटन, आसन ग्रहण भाषणहरूमा म सहभागी हुने छैन । तर, आफ्नो साटो एकजना प्रतिनिधि अनिवार्य पठाउनेछु। (पहिले नै वाचा गरेका सातवटा कार्यक्रममा चाहिँ जानैपर्नेछ । ती कार्यक्रमहरूमा एक घण्टाभन्दा बढी समय लगाउने छैन)
४. भोजभतेर, पारिवारिक उत्सव, जमघट आदिमा सहभागी हुन सकिनँ भने माफ गरिदिनुहोला।
५. मिडियाहरूमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरूबारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्नुहुनेछ।
६. प्रत्येक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफैँ उपस्थित हुनेछु ।
७. कुनै पनि रेस्टुरेन्ट, होटेल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन । अरू ग्राहकलाई झैँ समान मूल्य तिराउनुहोला। कुनै किसिमका उपहार, मायाको चिनोहरूमा एक पैसा पनि खर्च नगर्नु होला।
८. औपचारिक शपथग्रहणको दिन वा त्यसअगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
९. शपथग्रहणलगत्तै आफ्नो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु । त्यतिन्जेलसम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन–११ स्थित घरमा राखिएको ‘भन्नुहोस् के सेवा गरौँ’ लेखिएको बाकसमा खसाउनुहोला।
१०. लामो लामो राजनीतिक छलफलहरू भन्दा सुशासन, समृद्धिका अर्थपूर्ण छलफलहरूमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाको संलग्नता, महिला सशक्तीकरणजस्ता विषयका सटिक र अर्थपूर्ण बहसहरूमा सहभागी हुन म खोजी खोजी आउनेछु ।

अन्त्यमा,
राजनीतिक भेटघाट र पार्टीको महत्त्वपूर्ण कामका लागि आज साँझ काठमाडौँ जाँदै छु। केही दिनमा नै चितवन–२ मा आफ्नो कार्यालय खोलेर तपाईँहरूको सेवामा समर्पित हुनेछु। पूर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया सन्किउन्जेल धैर्यपूर्वक बसिदिनुहोला। म सम्भव भएसम्म धेरैभन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु । हामी आजबाटै काममा लाग्यौँ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस