काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा नेपाल बन्द सधैँका लागि बन्द गर्नेदेखि २०४६ यताका उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्नेसम्मको विषय समेटिएको छ । यस्तै अभिभावकीय संस्थाका रूपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् लगायत विषय उल्लेख छ ।
प्रदेश खारेजीको विषयलाई समावेश गरेको राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । सरकारमा सहभागिताको बारे प्रस्ट पार्दै घोषणा पत्रमा भनिएको छ, ‘विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता केन्द्रित राजनीति नगर्ने ।’




