काठमाडौँ । डा. गोविन्द केसीले अनसनको १३ दिनपछि अनसन तोडेका छन् । डा. केसी र सरकारबीच १० बुँदे सहमति भएपछि उनले अनसन तोडेका हुन् ।
डा. केसीले शिक्षण अस्पतालका बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । डा. केसी र सरकारले बनाएको समितिबीचको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।
डा. केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ ।
डा. केसीले समयसीमाभित्र माग सम्बोधन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिएका छन् । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षासचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहेका थिए । केसी तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी वार्ता टोलीमा सहभागी थिए ।
धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेको चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो । डा. केसीको स्वास्थ्य बिग्रँदै गएपछि उनलाई अनशनको १०औं दिनमा काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।



