काठमाडाैँ । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका-१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ ।
राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ । पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ ।
यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए । हालसम्म ५ जना बेपत्ता भएको उनले जानकारी दिए ।
उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।



