काठमाडौँ । यसपटकको म्यादी प्रहरी भर्नामा पुरानालाई प्राथमिकता दिइने भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि भर्ना गर्ने म्यादी प्रहरीमा पुरानालाई प्राथमिकता दिइने भएको हो ।
निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले सङ्ख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृति मागेको थियो । अर्थ मन्त्रालयले गत आइतबार माग भएभन्दा ५ हजार सङ्ख्या कम गरेर १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो ।
स्वीकृति आएसँगै भर्नाको बाटो खुलेको गृह मन्त्रालय प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘१ लाख १५ हजार म्यादी भर्नाका लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ, स्वीकृति आएसँगै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने म्यादी भर्नाका लागि बाटो खुल्यो,’ प्रवक्ता पोखरेलले भने ।
गृह मन्त्रालयले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेकालाई आगामी छनोट प्रक्रियामा प्राथमिकतामा राख्नेगरी तयारी गरेको छ । पुरानाबाट अपुग भएको अवस्थामा नयाँलाई भर्ना गर्ने तयारी छ । यसरी भर्ना गरिने म्यादी प्रहरीको कार्यकाल पनि स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुनेछ ।
स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । पूर्वसुरक्षाकर्मी पनि भर्नाका लागि प्राथमिकतामा पर्नेछन् । ‘पहिले जिम्मेवारी पूरा गरेकासँग अनुभव पनि छ, उनीहरूलाई ल्याउँदा तालिमको आर्थिक भार पनि कम पर्छ,’ प्रहरीले भनेको छ ।



