काठमाडौँ । नागरिक लगानी कोषले २७ औँ वार्षिक साधारणभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँट हिसाव विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेटने धारणा राखे ।
उनले कोषले सञ्चालन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्र, सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं पुँजीबजारका विकास गरी लगानी विविधिकरण गरी प्रतिफल अभिवृद्ध गर्न सकिने अवसरबारे जोड दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको अवस्थाबारे जानकारी दिए । उनले शेयरधनीले राखेको जिज्ञासालाई सम्बोधन गरे । आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले १ खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको छ ।
कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम गरिरहेको छ । कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागु गरिएको छ । साथै सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयर प्रयोगको लागि आवश्यक उपकरण कोषको प्रणालीमा जडान गरिसकिएको छ ।
योसँगै कोषमा आवद्ध भएका विभिन्न प्रतिष्ठान, संघ, संगठनबाट रकम सञ्कलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ । सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।




