काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताएका छन् । भरतपुर आँखा अस्पतालको निरीक्षणपछि आज उनले आफ्नो सम्पत्ति पनि फाउण्डेशनमार्फत सामाजिक क्षेत्रमा खर्च गर्न लागेको उल्लेख गरका छन् ।
जलविद्युत्, शिक्षा, स्वास्थ्य, बैंकिङ, कृषिलगायतका क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेका राज्यमन्त्री श्रेष्ठले भने, ‘ठूला लगानी रोकेर आयको आम्दानीबाट सामाजिक क्षेत्रमा सेवा गर्ने सोच बनाएको छु ।’ नेपालमा शिक्षा क्षेत्रमा परिचित श्रेष्ठको जलविद्युत्मा मात्रै रु ४० अर्बभन्दा बढी लगानी रहेको छ । चार नाफारहित अस्पताल बनाउँदै गरेको सो अवसरमा उनले जानकारी दिए । राज्यमन्त्री श्रेष्ठले भने, ‘अरु ठाउँबाट कमाएर सेवाको भावनाले खोल्नुपर्छ भनेर चार अस्पताल बनाउँदैछु ।’
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले जग्गाको लालपुर्जा पाउनुपर्ने भन्दै उनले आवश्यक पहलकदमी गर्ने बताए । उनले भने, ‘अस्पतालले लालपुर्जा पाउनैपर्छ, मन्त्रिपरिषद्बाट निर्णय भइसकेको कुरा किन पाएन’ हाल भरतपुर आँखा अस्पताल रहेको जग्गाको लालपुर्जा भरतपुर अस्पतालका नाममा छ ।



