काठमाडाैँ । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर-८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो ।
पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ । हरेक वर्ष बर्दियातर्फ भत्कँदै गएको नदीको भँगालो छिर्ने बर्दियातर्फ छिर्ने जोखिम बढेको छ । बर्दियातर्फ नदीको भँगालो पसेमा टीकापुर-८ श्रीलङ्का डुबानमा पर्ने जोखिम छ । त्यहाँ करिब ५० परिवार बस्दै आएका छन् । हजाराैं बिघा खेती कटानको जोखिममा छ ।
श्रीलङ्कामा बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको विओपी रहेको छ । नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा रहेको छ । गत वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो ।



