पेट्रोलियमको मूल्य नघटाए निर्णायक आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन, अनेरास्ववियुले पेट्रोलियमको मूल्य घटाउन माग गरेको छ । अनेरास्ववियुले मंगलबार विज्ञप्ति जारी गर्दै मूल्य घटाउन माग गरेको हो ।

पछिल्लो १५ दिनमा दुईपटक गरेर मूल्य घटेर आएको भएपनि नेपाल आयल निगमले घाउ घटाउन चासो नदिएको अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य घटाएको छैन,’ अगाडि भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ ।’

निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मूल्य समायोजन नगरिएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ । ‘विगतमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरिब जनताको चुल्हो बल्न कठिन भई रहेको अवस्था छ, अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिएको छ, देशमा राज्य छ कि छैन भन्ने अवस्था छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

अनेरास्ववियुले यथाशीघ्र मूल्य समायोजन गर्न निगमलाई आग्रह गर्न गरेको छ । ‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु वैज्ञानिक तथा स्वचालित मूल्य समायोजनको पक्षमा निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री