काठमाडौँ । मोरिससका महावाणिज्यदूत गणेश कार्कीलाई युरोपियन इन्टरनेशनल विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का उपाध्यक्षसमेत रहेका कार्कीलाई मलेसियाको युरोपियन इन्टरनेशनल विश्वविद्यालयले ‘ग्लोबल लिडरसिप इन बिजनेस म्यानेजमेन्ट’मा मानार्थ विद्यावारिधि (प्रोफेसनल डक्टर प्रमाणपत्र) प्रदान गरेको हो ।
मलेसियाकी राजकुमारी डा. रोमना मुराडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्कीले नेपालको सामाजिक र आर्थिक क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै सो डाक्टर अवार्ड प्रदान गरेको छ । मानार्थ ‘विद्यावारिधि’ प्रदान कार्यक्रममा विश्वविद्यालयका डा. एर्वर्ड रोय कृष्णन, संस्थापक तथा महानिर्देशक डा. एडवर्ड रोय कृष्णनको विशेष उपस्थिति रहेको थियो ।
युरोपियन इन्टरनेशनल विश्वविद्यालय फ्रान्सको चर्चित विश्वविद्यालय हो । ३० देशका १ सय ५० भन्दा बढी विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा कार्की सहित ५५ जनालाई विभिन्न विद्यामा मानार्थ ‘विद्यावारिधि’बाट दीक्षित गरिएको थियो ।
कार्की सिंगटी हाइड्रो इनर्जी लिमिटेडका कार्यकारी निर्देशक तथा रोटरी क्लब अफ पाटन हेरीटेजका अध्यक्षसमेत हुन् ।



