नेपाल प्रेस युनियन सुनसरीको वृत्तचित्र सार्वजनिक (भिडियो)

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले वृत्तचित्र सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियन सुनसरीको आधिकारिक युट्युब च्यानलमार्फत उक्त वृत्तचित्र सार्वजनिक गरिएको हो ।

प्रेस युनियनको नवौँ महाधिवेशनमा समय अभावका कारण प्रस्तुत गर्न नसकिएपनि आफूहरूले शुक्रबार युट्युबमार्फत वृत्तचित्र सार्वजनिक गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । ‘म अध्यक्ष भएर आएको करिब २८ महिनाको अवधिमा हाम्रो कार्यसमितिले गरेका महत्त्वपूर्ण कामबारे वृत्तचित्रमार्फत प्रस्तुत गरिएको छ,’ अधिकारीले भने, ‘१५ मिनेटको वृत्तचित्रमा हामीले सञ्चारकर्मीहरूका लागि गरेको महत्त्वपूर्ण काम प्रस्तुत गरिएको छ ।’

कोरोना महामारीमा सञ्चारकर्मीका लागि गरिएको कोरोना बिमा, मोबाइल डाक्टर सेवा, दुर्घटना बिमा, अक्षयकोष स्थापना तथा जग्गा प्राप्तिसम्मको काम गरेको प्रेस युनियन सुनसरीले दुई दर्जन बढी गरेका कामको वृत्तचित्र बनाइएको हो । अधिकारीले नेतृत्व गरेसँगै सुनसरीका सञ्चारकर्मीहरूका लागि सकारात्मक काम भएको प्रशंसा गर्दै युनियन केन्द्रीय कार्यसमितिले नवौँ महाधिवेशनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उत्कृष्ट शाखाको रूपमा सम्मान समेत गरेको छ ।

वृत्तचित्र निर्माणले आफूहरूले गरेका कामको दस्ताबेज बन्ने सुनसरीका अग्रज पत्रकार तथा सुनसरी युनियनका पूर्व अध्यक्ष हर्ष सुब्बाले बताए । ‘सकारात्मक काम गरेपछि यसको दस्ताबेज राख्नुपर्छ भन्ने उदाहरणको रूपमा यो भिडियो प्रस्तुत भएको छ ।’ सुब्बाले भने ।

युनियनका नवनिर्वाचित महासचिव दिलीप पौडेलले अहिले सुनसरी युनियनले सृजनात्मक काम गरेको बताए । ‘सुनसरी शाखालाई हेरेर अरू शाखालाई पनि सकारात्मक काम गर्नका लागि ऊर्जा प्रदान गर्छ’ उनले भने । वृत्तचित्र अनिता विन्दुको स्वरमा रेकर्ड भएको छ ।

भिडियो :-

तपाईंको प्रतिकृया

लेखकबाट थप