काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले नर्सिङ शिक्षालाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद डा. संग्रौलाले नर्सिङ्ग शिक्षामा सम्झौता नहुने गरी नेपालका कलेजहरुलाई नर्सिङ्ग पठनपाठन अगाडी बढाउन सहजीकरण गर्न साथै कर्णाली र सुदूर पश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम संचालन गर्ने तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।
संसदमा उनले के भनिन्:- ‘एकातिर नेपालले दक्ष जनशक्तिको रुपमा रहेका नेपाली नर्सहरुलाई बेलायत पठाउन स्विकृती दिएको छ भने अर्कोतिर नर्सिङ्ग विषय पठनपाठन गर्ने नेपालमा रहेका कैयौं कलेजहरुले चिकित्सा शिक्षा ऐन २०७५, नियमावली २०७७ ले तोकेको मापदण्ड पुरा गर्न नसकेका कारण आफ्ना कार्यक्रमहरु बन्द गरेका छन् ।
एकसय शैय्याको आफ्नै अस्पताल चलाउनु पर्ने भन्ने प्रावधान व्यवहारिक नभएको गुनासो आइ रहेको छ। प्राविधिक एसएलसी, डिप्लोमा तथा स्नातक तहमा निशुल्क छात्रवृत्तिमा पढ्न योग्य सैयौं विद्यार्थीहरु पढाईबाट वन्चित हुनु परेको छ र अरबौं रुपियाँको लगानी डुब्ने स्थिति पैदा भएको छ ।
त्यसैले गुणस्तरीय नर्सिङ्ग शिक्षामा सम्झौता नहुने गरी नेपालका कलेजहरुलाई नर्सिङ्ग पठनपाठन अगाडी बढाउन सहजीकरण गर्न साथै कर्णाली र सुदूर पश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम संचालन गर्ने तत्काल व्यवस्था मिलाउन म माग गर्दछु ।’




