काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले राजाहरूले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उक्त गाडी अवलोकनका लागि उद्घाटन गरे । संग्रहालयमा स्वर्गीय राजा त्रिभुवनले प्रयोग गरेको फोर्ड कम्पनी क्यानडाद्वारा निर्मित काठको क्यारियर भएको पिक अफ ट्रक राखिएको छ । उक्त ट्रक सिकारमा पनि प्रयोग हुने गरेको जानकारहरूले बताएका छन् ।
त्यस्तै स्वर्गीय राजा त्रिभुवनले नै प्रयोग गरेको फोर्ड कम्पनीद्वारा निर्मित फ्यामिली कार (बा.अ. २) पनि प्रदर्शनीमा राखिएको छ भने स्वर्गीय राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि प्रदर्शनीमा राखिएको छ ।
उक्त मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारहरूले बताएको संग्रहालयमा सूचना अधिकृत बुद्धि गुरुङले जानकारी दिए । तीनवटै गाडीहरूका भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकोमा भौतिक मर्मत तथा रंगरोगन गरी प्रदर्शनमा राखिएको संग्रहालयले जनाएको छ ।




