मङ्गलबारे । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् ।
केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।
गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ ।




