राष्ट्रियसभामा राेकिएन नागरिकता विधेयक, प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सोमबार बसेको बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको तियो ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । त्यसअघि बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढ्ने बताए ।

विधेयकमा संविधानको व्यवस्थाअनुसार गैर आवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक प्रयोग गर्न पाउने गरी नागरिकता दिने प्रावधान थप्ने काम भएको उनले बताए । उनले नागरिकता नपाउँदा पढ्न, उद्योगधन्दा सञ्चालन गर्न, व्यवसाय दर्ता गरेर सञ्चालन गर्न समस्या भएको हुँदा विधेयक तत्काल ल्याउनुपरेको जानकारी गराए ।

विधेयमाथिको छलफलमा भाग लिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिले बहुमतले पारित गरेको विधेयक सरकारले फिर्ता गरेर नयाँ विधेयक ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले ७ वर्ष वैवाहिक अंगीकृत नागरिकता महिलालाई दिने प्रावधानलाई हटाइएको भन्दै आपत्ति जनाए ।

त्यस्तै सांसद डा. विमला राई पौड्यालले गठबन्धनको नेताहरूको बलमिचाइँका कारण नयाँ विधेयक ल्याएको तर्क गरे । पुरानो विधेयक फिर्ता लिएर सरकारले सांसदको स्वविवेक निर्णय गर्नेको पनि अवमूल्यन गरेको उनको भनाई छ । सांसद खिमलाल देवकोटाले नागरिकता विधेयकमाथिको कतिपय प्रावधानहरूमा पुर्नविचार गर्नुपर्ने देखिएको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री