काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८।५ प्रतिशत पुर्याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दबाब पुग्नेछ । कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको सुविधामा आवश्यक पुनरकर्जाको प्रबन्धमा केही संशोधन गरिएको उनले जानकारी दिए ।
रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैंकले लिएको छ ।
सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ । शेयर कर्जाको अधिकतम सीमा १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ ।
पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् : पूर्णपाठ




