काठमाडौं । कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ ।
विश्वभरका देशको पासपोर्टको र्याङ्किङ गर्दै आएको संस्था द हेन्ली पासपोर्ट इन्डेक्सले बुधबारमात्रै सन् २०२२ मा कुन देशको पासपोर्ट कति शक्तिशाली भन्ने सूची प्रकाशन गरेको छ । कुन देशका नागरिकले कति देशमा अन अराइभल भिसा वा भिसा फ्रि इन्ट्री पाउँछन् भन्ने तथ्याङ्कलाई विश्लेषण गरेर सूची प्रकाशन गरेको द हेन्लीले जनाएको छ । जसअनुसार जापान एक नम्बरमा छ ।
त्यस्तै सिङ्गापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् । जापानी नागरिकहरूले पहिले नै भिसा नलगाइ संसारका एक सय ९३ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ देशको मात्र भ्रमण गर्न मिल्छ । दोस्रो शक्तिशाली सिङ्गापुर र दक्षिण कोरियाको राहदानीले एक सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले एक सय ९० देश घुम्न सकिन्छ ।
द हेन्लीले नेपालको राहदानी निकै कमजोर देखाएकाे छ । नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १ सय ६ औँ स्थानमा राखेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१ सय ५ औँ) स्थानमा छ । गएको वर्ष नेपाल १ सय ९ औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली देशहरूमध्ये भारत ८७, भुटान ९३, बङ्गलादेश १ सय ४ र पाकिस्तान १ सय ९ औँ स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १२ औँ स्थानमा) छ ।




