हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ। दुई बैंकबीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले हस्ताक्षर गरेका हुन्।

नेपालको वित्तीय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एकयुजिशन नीतिको अनुसरण गर्दै दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक लिमिटेड नै रहने छ भने संचालक समिति हिमालयन बैंक कै हुनेछ। संचालक समितिका अध्यक्ष भने प्रचण्ड बहादुर श्रेष्ठ छन्। यसैगरी प्रमुख कार्यकारी अधिकृतमा अशोक शम्सेर राणा छन्।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ सेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको छ। हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड छ।

त्यसैगरी, जगेडा कोषमा हिमालयन बैंकको ८ अर्ब ३ करोड रुपैयाँ र सिभिल बैंकको २ अर्ब ९१ करोड रुपैयाँ छ। कर्जा लगानी तर्फ हिमालयन बैंकको १ खर्ब ५८ अर्ब रुपैयाँ तथा सिभिल बैंकको ८६ अर्ब ७४ करोड रुपैयाँ छ। निक्षेप तर्फ भने हिमालयन बैंकको १ खर्ब ७२ अर्ब रुपैयाँ तथा सिभिल बैंकको ९३ अर्ब ३३ करोड रुपैयाँ छ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल शाखा संख्या १८९ पुग्नेछन्। यस कदमले सस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा उल्लेख्य प्रगति हुने विश्वास लिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री