काठमाडौ। प्रभु बैंक लिमिटेडमा २ जना बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा दिनेश थकाली तथा चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेका छन् । उनका अनुसार सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।
नवनियुक्त थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओकाे जिम्मेवारी सम्हालेका थिए । थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका हुन् ।
उता चिफ क्रेडिट अफिसरमा नियुक्त भएका लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोरेट अफिसको ब्राञ्च म्यानेजर भएका थिए । लम्सालसँग १९ वर्षसम्म बैंकमा काम गरेको अनुभव रहेकाे छ । पछिल्लो अढाई वर्ष उनले एनबिमा सिनियर म्यानेजरको रुपमा काम गरेका थिए ।




