काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले समग्र विषयमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएकी छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै संग्रौलाले स्थानीय तहको निर्वाचनको समीक्षा, भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता, पार्टीका विभिन्न विभागको गठन, नीति तथा विधान अधिवेशन, आगामी चुनावी रणनीति, पार्टी र सरकार संचालनको अवस्था, राष्ट्रिय राजनीतिमा काँग्रेसलगायतका विषयमा देउवाको ध्यानाकर्षण गराएकी हुन् ।
संग्रौलाले के भनिन्:
नेपाली काँग्रेस केन्द्रीय समितिको यो चौथो बैठक स्थानीय निर्वाचन बारे समीक्षा एवंम् अन्य विविध विषय वस्तु बारेमा समेत विचार विमर्श गर्ने हुँदा यो बैठक आफैमा अत्यन्त महत्वपूर्ण छ । १४औं महाधिवेशन लगत्तै भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी भएको छ । यसमा आदरणीय पार्टी सभापती लगायत सिंगो केन्द्रीय समिति नै धन्यवादको पात्र बनेको छ । अब करिब ४ महिना पछि हुने प्रदेश र संघको निर्वाचनमा समेत काँग्रेस ठूलो दल सहित सरकारको नेतृत्वमा पुग्नु पर्ने कुरामा दुई मत छैन । देशको राजनीतिमा विभिन्न भूमिका कहिले प्रतिपक्ष त कहिले सत्ता पक्ष सहित संयुक्त सरकारको नेतृत्वमा सरकार संचालनको जिम्मेवारीमा रहेकाले सत्तारुढ दलको यो बैठकले सबैको ध्यान केन्द्रीत गरेको छ । करिब सात दशक लामो यात्रा पार गरिसकेको लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस आफ्नो स्थापनाकाल २००३ साल देखि २०७९ साल सम्म आईपुग्दा तत्कालीन र दीर्घकालीन कार्य समितिको आधारमा बिजय र पराजय भएको ईतिहास साक्षी छ । नेपाली जनताले आशा भरोसा गरेको सधैं जनताको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, मुलुकको स्वाधिनताका लागि संघर्ष गर्ने नेपाली काँग्रेस आजको अवस्थामा अझ बढी क्रियाशिल , संगठित भई एकताबद्ध हुन जरुरी छ ।
आधुनिक नेपालको परिर्वतनको मुल संवाहक शक्ति काँग्रेसले अहिलेको परिस्थितिमा आफ्ना नीति अवधारणा समय सापेक्ष रुपान्तरण गरी (समुन्नत नेपाल सम्पन्न नागरिक) को लक्ष्य प्राप्तीका लागि राष्ट्रको आर्थिक पक्षका साथै राजनैतिक र सामाजिक पक्ष पनि सबल हुन आवश्यक छ । परिणाममुखि नीति कार्यक्रम तथा योजनाको निर्माण सफल कार्यान्वयन कानूनी शासन, आर्थिक अनुशासन तथा सुशासन समग्र बिकासका आधार स्तम्भ हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि बनेको अघिल्लो सरकारमा नेपाली जनताले आफ्नो भविष्य प्रति विश्वस्त हुन सकेनन् । अब हुने निर्वाचन पछि बन्ने सरकार काँग्रेसको हुने र जनतालाई विश्वस्त पार्दै सांगठनिक, राजनैतिक, आर्थिक, सामाजिक पक्षमा समेत आमुल परिर्वतन गरि योग्य मान्छेलाई योग्य ठाउँको अवधारणा अनुरुप उम्मेद्वार चयनमा ध्यान दिन जरुरी छ । नत्र अहिलेको स्थानीय निर्वाचनमा उदाएका स्वतन्त्र उम्मेद्वारको बिजय र फेरी सलबलाई रहेको आगोको राग र तापको झिल्काले काँग्रेसलाई नछुला भन्न सकिन्न । त्यसैले यो बैठकमा निम्न बुँदामा आफ्नो धारणा राख्न चाहन्छु:
१- स्थानीय तहको निर्वाचन सम्बन्धी विवेचना:
नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दल बिचको चुनावी तालमेलका कारण धेरै सिट जित्न सफल भएको छ । अहिलेको निर्वाचनको परिणामलाई हेर्दा केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन अनुसार गठबन्धन बिना उम्मेद्वारी दिएकोमा ४८ प्रतिशत जित निकालेको छ भने गठबन्धन गरेर उम्मेद्वारी दिएकोमा ५२ प्रतिशत जित निकाल्न सफल भएको छ । काँग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दावी गरेको छ । टिकट वितरण गर्ने विधानतः विभिन्न निकायले आवश्यक मापदण्ड र मुल्यांकनको पद्धती अनुरुप टिकट वितरण गर्न नसक्दा अघिल्लो पटक जितेका १२६ पलिकामा यस पल्ट जीत निकाल्न सकिएन । यो मेरो र तेरो भन्ने भावनाले ग्रसित नभई उम्मेद्वारको सहि टिकट वितरण गरिएको भए नेपाली काँग्रेसले सोचेभन्दा बढि सफला प्राप्त हुने थियो ।
राजनीति दलहरुको गठबन्धन र निर्वाचन आयोगको निर्देशन समेतका कारण स्थानीय तहमा महिला नेतृत्व खुम्चियो । देशैभरि ७५३ स्थानीय तह मध्ये यस पटक २५ पालिकाको नेतृत्व गर्ने अवसर महिलाले पाएका छन् । संवैधानीक प्रावधान अनुसार राजनीतिक दलहरुले पालिका प्रमुख-अध्यक्ष-उपप्रमुख-उपाध्यक्ष मध्ये एक महिला उम्मेद्वार बनाउनु पर्नेमा गठबन्धन गरिएका पालिकामा भने प्रमुख वा उपप्रमुख मध्ये एउटा पदमा मात्र उम्मेद्वारी दिदा पुरुषलाई अघि सारेका कारण यसपालि नेपाली काँग्रेसबाट महिला प्रमुखको संख्या घट्न पुग्यो । २५ प्रमुख महिला मध्ये ८ जना नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् । यो निरासाजनक परिणाम हो । अब आउने निर्वाचनमा प्रत्यक्षमा महिलालाई बढी उम्मेद्वारी दिईनु पर्दछ ।
२- भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता:
भातृ तथा शुभेच्छुक संस्था नेपाली काँग्रेसको मेरुदण्ड र संगठनको आधारशिला हो । यिनीहरुको क्रियाशिलता, शसत्तता बिना पार्टी बलियो हुन सक्दैन । भातृ संस्थाको अधिवेशन समयमै हुन नसक्दा तदर्थ समिति गठन गरिएको छ । त्यो समितिलाई छिटै पुर्णता दिई संगठनको विस्तार, परिचालन र सुदृढीकरण गरिनु पर्दछ ।
३- विभागको गठन:
काँग्रेसको विधानमा ६ महिना भित्र केन्द्रीय विभाग सहितका संरचनाहरुलाई पूर्णता दिनु पर्ने व्यवस्था छ । विभाग गठनले पार्टीको संगठनमा नयाँ उर्जा र गतिशिलता प्रदान गर्न महत्वपूर्ण भूमिका रहन्छ । यसलाई छिटो भन्दा छिटो पूर्णता दिनु जरुरी छ ।
४- नीति तथा विधान अधिवेशन:
नेपाली काँग्रेसको १४औ महाधिवेशन सम्पन्न भएको ६ महिना कटिसकेको छ । विषेश परिस्थितीमा सम्पन्न भएको यो अधिवेशनले नेतृत्वको मात्र चयन गरियो, नीति निर्माण गर्न सकेन । जसको नेतृत्व त्यसैको नीति भनेर सम्पन्न अधिवेशनले अब छिटै नै नीति अधिवेशन गर्नु पर्ने जरुरी छ । विधीको ब्याडमा नीतिको बिरुवा उमार्नु पर्दछ । नीति समय देशकाल र परिस्थिती अनुरुप हुनु पर्दछ ।
५- आगामी चुनावी रणनीति:
चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता पर्दछ । आगामी चुनावमा गठबन्धन सहित गए बढी सिट हासिल गर्ने रणनीति होला तर सिटको बाँडफाड र पार्टीबाट चुनीने उम्मेद्वार योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मुल्यांकन पद्धति अपनाउन आवश्यक छ । त्यसैले रणनीति वाह्य र आन्तरिक दुवै हुनु पर्दछ । तब मात्र परिणाम हात लाग्दछ ।
६- पार्टी र सरकार संचालनको अवस्था:
पार्टी संचालनमा पार्टीका सभापतीको साथै पदाधिकारीहरुको भूमिका पनि महत्वपूर्ण रहन्छ । अहिलेको नेतृत्व हेर्दा पार्टी सभापतीमा परिपक्क नेतृत्व देखिन्छ भने पदाधिकारीमा अधिकांश युवा पीढि आएका छन् । तर, पार्टी संचालनमा नयाँ वा रुपान्तरण भएको देखिदैन । सरकार पनि जनता प्रति उत्तरदायी र जिम्मेवार बन्नु नै पर्दछ ।
७- राष्ट्रिय राजनीतिमा काँग्रेस:
नेपालको राष्ट्रिय राजनीतिमा काँग्रेस सफल भएको छ । किनकी ५ बर्षको लागि प्रतिपक्षको जिम्मेवारी पाएको काँग्रेस आज सरकारको नेतृत्वमा छ । काँग्रेसकै नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न भई बाँकी निर्वाचन पनि हुँदैछन् । राष्ट्रिय मुद्दाहरुमा एमसिसिको अनुमोदनले मुलुकलाई सम्बृद्धि तर्फ लैजाने नयाँ आयाम थपेको छ यस एसपीपी जस्ता स्टेट पार्टनरशिपको सवालमा सरकारको स्पष्ट दृष्टिकोण र अडानले परराष्ट्र नीतिमा अब्बल सावित भएको छ । तर, कोरोनाले थलिएको अर्थतन्त्र रुस र युक्रेनको युद्धका कारण भित्रिएको आर्थिक संकटले जनजीवन असहज र भयावह बन्दैछ । महगी र मुल्यवृद्धिले जनता अक्रान्त छन् त्यस तर्फ ध्यान दिन जरुरी छ ।
८- जागरण अभियान:
जागरण अभियान पार्टी संगठन भित्र नेता, कार्यकर्ता र जनतालाई जोड्ने महत्वपूर्ण कडी हो । जसको माध्यमबाट बैचारिक, सांगठनिक, सुदृढीकरण र परिचालनमा नयाँपन आउने गर्दछ । स्थानीय निर्वाचनमा संचालन गरिएको “घर घर जाऔं काँग्रेस जिताऔं” अभियानले पहिलो पार्टी बन्न परिणाम दियो । आगामी निर्वाचन भन्दा अगाडी “प्रदेश र संघको सरकार संम्बृद्धि आधार” सहित जनताको घर आँगनमा जागरण अभियान संचालन गरिनु पर्दछ । जय नेपाल !!




