काठमाडौँ । उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ।
सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । नेपालको निर्णयमाथि बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा नेपालको निर्णयको स्वागत गरेका हुन् ।
‘नेपालको रणनीतिक साझेदार मित्र र निकट छमेकी हुनुको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्दछ’ प्रवक्ता वाङ् वेनबिनले पत्रकारको प्रश्नमा भनेका छन्,’चीन नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धतामा निरन्तर सहयोग गरिरहन्छ ।’
एसपीपीमा बृहत् विवाद भएकोबारे चीन जानकार रहेको पनि बताएका छन्। ‘नेपालका राजनीतिक दल र समूह, सरकार, सेना तथा नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग नजिकसँग जोडिएको सैन्य सुरक्षा अवधारणा भनेका छन्’, प्रवक्ता वेनबिनले भनेका छन्, ‘उनीहरू यसलाई राष्ट्रिय हित र लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिविपरीत रहेको मान्छन्।’




