हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवर्धन गरिएको बैंकले जनाएकाे छ ।
नेपाल राष्ट्र बैँक पोखरा कार्यालयका प्रमुख डा. रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत् सरलता र सहजता आएको जानकारी दिए । उनले प्रभु बैंक र फोन–पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेको जानकारी दिए ।
प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको जानकारी दिए । अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए ।



