ट्राफिक प्रहरीको जरिवाना कुमारी बैंकको क्युआर कोडबाट तिर्न सकिने

काठमाडौं । अब कुमारी बैंकको क्युआरबाट ट्राफिक प्रहरी कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना तिर्न सकिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बैंकसँगको सहकार्यमा साे सेवा शुरु गरेको हो । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त सेवा सञ्चालन गरेका थिए ।

कार्यक्रममा बोल्दै उनीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको जानकारी दिए । यो सेवाको शुरुवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने उनको विश्वास रहेकाे छ । कार्यक्रमका अतिथि कुमारी बैंकका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो शुरुवात एउटा नयाँ आयाम भएको विचार राख्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताए । यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्ना साथ रकमसहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधै भुक्तानी गर्न सकिने जानकारी दिए।

कार्यक्रममा उपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट क्युआरस्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको जानकारी दिए । हाल कुमारी बैंकले १ सय ९७ शाखा सञ्जाल, १ सय ७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकको प्रतिबद्धता ब्यक्त गरेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री