काठमाडौं । हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म मनाइने स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदैछ । यस वर्षको नारा “स्तनपान जीवनको आधार” तय गरिएको छ ।
महिलामा चेतनाको कमीले गर्दा कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, दूध कम आए बोतलको दूूध वा अन्य लेक्टोजिनजस्ता कृत्रिम तयारी दुग्ध पदार्थ ख्वाउने चलन बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ । नियमित र निश्चित अवधि सम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ ।




