काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राखेर अनशनरत प्राध्यापक डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ। अनशनको २५ औं दिनमा डा . केसी तथा सरकारी वार्ता टाेलीबीच पहिलोपटक मंगलबार वार्ता भएको थियो।
बुधबार बिहान ९ बजेदेखि पुनः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा मंगलबारको वार्तामा मिल्न बाँकी रहेका विषयमा टुंगोमा पुग्ने तयारी छ।
केसी पक्ष र सरकारबीच मंगलबारको वार्ता सकारात्मक रूपमा अघि बढेको दुवै पक्षले जनाएका छन्। बुधबार बिहान पुनः बैठक बसी बाँकी विषयमा समझदारी जुटाउने सहमति भएको उनीहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले केसीका मागमा लचकता अपनाउँदै केसीको मागमा सकारात्मकता देखाएका थिए । डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै विधेयकमा आउनुपर्ने माग राख्दै आएका छन् । सरकारले अध्यादेशमा भएको केही व्यवस्था संशोधन गरेर विधेयक संसद्मा पेस गरेपछि केसी विगत २५ दिनदेखि अनशनरत छन् ।




