काठमाडौं । शनिबार बानेश्वरमा पत्रकारमाथि प्रहरीले गरेको अन्धाधुन्ध प्रहारको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ । समाचार संकलनका लागि गएका पत्रकारमाथि प्रहरीले गरेको दमनप्रति प्रेस युनियनले विज्ञप्ति निकालेर भत्सर्ना गरेको हो ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलद्धारा जारी विज्ञप्तिमा ‘शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलनमा क्रममा सरकारले गरेको निर्मम दमनबाट नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत सञ्चारकर्मी घाइते भएको र स्वतन्त्र प्रेसमाथि भएको दमनको युनियन कडा भत्र्सना गर्दछ’ भनिएको छ ।
विज्ञप्तिमा ‘ नेपाल प्रेस युनियन सरकारद्वारा स्वतन्त्र प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना गर्दै घाइते भएका सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।’
नेपालको संविधान अनुसार स्वतन्त्र प्रेसको जिम्मेवारी वहन गरिरहेका सञ्चारकर्मीमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको समेत युनियनले ठहर गरेको छ ।




