काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले पुनः सभापतिका लागि तयारी गर्ने संकेत गरेका छन् । शनिबार प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४ औं महाधिवेशनबारे छलफलका क्रममा पुनः पार्टी सभापतिका लागि इच्छुक रहेको संकेत गरेका हुन् ।
कांग्रेस केन्द्रीय समितिको हिजो बसेको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो । त्यसैको भोलिपल्ट देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुलाई आफ्नाे निवास बुढानीलकण्ठमा बाेलाएर छलफल गरेका हुन् ।
छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा.डिला संग्रौला, सुजाता परियारलगायतले सहभागिता जनाएका थिए। सातै प्रदेशका केन्द्रीय सदस्यसँग बेग्लाबेग्लै भेट्ने कार्यक्रमलाई उनले प्रदेश १ बाट सुरु गरेको जानकारी दिएका छन्।




