काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भएकाे भन्दै नेपाली कांग्रेसले आज बिहीबार मुलुकभरका सबै वडामा विरोध प्रदर्शन गरेको छ। संसद विघटनविरुद्ध निरन्तर आन्दोलित कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको छ। केहि समय अगाडि कांग्रेसले पुस १३ गते १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन गरेको थियो।
आन्दोलनको समीक्षा तथा नयाँ रणनीति तय गर्न कांग्रेसले माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। दोस्रो चरणको विरोध कार्यक्रम सम्पन्न भएकोले अब आन्दोलनको नयाँ स्वरुप र कार्यक्रमबारे आन्तरिक तयारी भइरहेकाे छ। आगामी केन्द्रीय समितिको बैठकले यसबारेमा ठोस् निर्णय लिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएकाे छ ।




