कोरोनाभाइरस: कोभिड-१९ को आशङ्कामा पाँच जना अस्पताल भर्ना, अहिलेसम्म २५० जनाबाट सङ्कलित नमुनाको परीक्षण

काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको अधिकारीहरूले बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

उनीहरू “शङ्कास्पद बिरामी”को मापदण्डमा परेकाले निगरानीमा राखिएको डा. पाण्डेले बताए। सरकारले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सचेतना अभियान अघि बढाउनुका साथै थप सतर्कताका उपाय अवलम्बन गर्न लागिएको जनाएको छ।

नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। तर त्यसपछि अरू कसैमा पनि सङ्क्रमण देखिएको छैन। अहिलेसम्म टेकुमा रहेको सरुवा रोग अस्पतालमा मात्रै कोभिड-१९ भएको परीक्षण गर्ने प्रयोगशाला छ।

केन्द्रका निर्देशक डा. पाण्डे भन्छन्, “चीन र कोरियाबाट आएका व्यक्तिहरूमा केही लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको हो।””उहाँहरू विमानस्थलबाट सोझै आउनुभए जस्तो मलाई लागेन। एक जना आज (सोमवार) आउनुभएको छ र हाम्रा चिकित्सकहरूले उहाँको जाँच गरिरहनुभएको छ। दुई जना अलि अस्ति र दुई जना हिजो अस्पतालमा भर्ना हुनुभएको हो।”

कोरोनाभाइरसको सङ्क्रमण भएको देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएकाले भर्ना भएका व्यक्तिहरूलाई शङ्कास्पद बिरामी मानी निगरानीमा राखिएको उनले बताए । जनस्वास्थ्यविज्ञहरूले कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि समाजिक क्रियाकलापबाट आफूलाई अलग राख्न र घरमा पनि एक्लै बस्न सुझाव दिँदै आएका छन्।

यसैबीच चीनबाट फर्किएपछि दुई हप्ताभन्दा बढी समय खरिपाटीमा क्वारन्टीनमा राखिएका १७५ नेपालीहरूको र्‍यालका नमुना परीक्षणको निर्णय सोमवार आउने अधिकारीहरूले बताएका छन्। डा. पाण्डेले साँझसम्म सबै रिपोर्ट आइसक्ने र त्यसपछि सङ्क्रमित नभएको पुष्टि भए सबैलाई घर पठाइने बताए।

उनले औपचारिक निर्णयका लागि प्रयोगशालाको रिपोर्ट कुरिरहेको भए पनि अहिलेसम्म क्वारन्टीनमा राखिएका १७५ जनामा कोरोनाभाइरसको कुनै लक्षण देखा नपरेको बताए। नेपालमा अहिलेसम्म झन्डै २५० शङ्कास्पद व्यक्तिको परीक्षण गरिएको छ।

थप सतर्कता

संसारका ६० वटा देशमा कोरोनाभाइरसको सङ्क्रमण फैलिसकेको छ।

पुष्टि भएका कुल सङ्क्रमण मृत्यु

स्रोत: विश्व स्वास्थ्य सङ्गठन

शनिवार कोरोनाभाइरसको प्रकोपसँग जुध्न उच्चस्तरमा तयारी अघि बढाउन नेपाल सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो। त्यसलगत्तै सरकारले त्रिभुवन विमानस्थल र चीन अनि भारततर्फका नाकाहरूमा निगरानी बढाउने निर्णय गरेको छ।

आइतवारदेखि ‘थर्मल गन’ नामक उपकरण प्रयोग गरेर सबै यात्रुको शरीरको तापक्रम जाँच्न थालिएको तथा उनीहरूको शरीरमा लिक्विड स्यानिटाइजर एजेन्ट स्प्रे गर्ने व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराल भन्छन्, “विगतमा हामीले निश्चित वायुसेवाबाट आएका यात्रुहरूको मात्रै निगरानी गरिरहेका थियौँ।” “तर अब जुनसुकै वायुसेवाबाट आएका यात्रुहरूको पनि निगरानी बढाएका छौँ। थर्मल स्क्यानर बाहेक नन-टच थर्मोमिटरबाट पनि हाम्रा स्वास्थ्यकर्मीले निगरानी गर्नुभएको छ।”\

भारतसँग जोडिएका नाकाबाट हुने पर्यटकसहितको आगमनमा निगरानी बढाउन प्रदेशस्तरीय संयन्त्रहरूलाई अभिमुखीकरण गर्ने जिम्मेवारीसहित सातवटै प्रदेशमा स्वास्थ्य सेवा विभागले टोली पठाएको छ। सचिव बरालले शुक्रवारबाटै ती टोलीहरू प्रदेशमा खटिएको र उनीहरूले प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा भएका स्वास्थ्य जनशक्तिहरू परिचालित गर्ने जानकारी दिए।

कोरोनाभाइरसले फोक्सोमा सङ्क्रमण गर्ने चिकित्सकहरू बताउँछन्
खासगरी नेपाली कामदारहरू काम गर्ने दक्षिण कोरिया र खाडी मुलुकहरूमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि पछिल्लो अवस्थालाई सावधानीपूर्वक नियालिरहेको बरालले बताए।

कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित चीन र काठमाण्डूबीच हुने उडानहरू ठूलो सङ्ख्यामा घटिसकेको अधिकारीहरू बताउँछन्।

सरकारले विदेशमा भइरहेका नेपाल भ्रमण वर्ष २०२० का प्रचारात्मक कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ भने देशभित्र भिडभाड हुन सक्ने र त्यसबाट सङ्क्रमण फैलिने जोखिम रहने खालका सार्वजनिक समारोह आयोजना नगर्न आह्वान गर्ने उपायबारे छलफल अघि बढाएको छ।

‘कोरोनाभाइरस सङ्क्रमणले इरानमा २१० जनाको मृत्यु’
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि थप सतर्कता अपनाउन सरकारले ध्यान दिने बताउँछन्। उनले भने, “४८ दिनअघि एक जनामा सङ्क्रमण देखियो तर अहिलेसम्म अन्य सङ्क्रमण देखिएको छैन। यसलाई हामीले भाग्य नै मान्नुपर्छ।” “यो राम्रो कुरा हो र यसलाई कायम राख्न सकियो भने ठूलो उपलब्धि मान्नुपर्छ।” बीबीसीबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री