काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर २१ गते ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
डा.अयोधिप्रसाद यादवले सरकारले सुरक्षाको बलियो प्रबन्ध गरेको भन्दै उनले आममतदाताहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
काठमाडौमा मंगलबार भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै यादवले भने, ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ ।’ उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गरे ।
साथै यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिए । उनले भने,‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भैसकेको छ, आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए ती सबै समस्याहरु हलगर्नको लागि तयारी अवस्थामा बसेका छौं।’
मतदान सकिएलगत्तै सुरक्षिततवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनको लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले जनाए । प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउनेगरि आयोगले निर्देशन दिएको पनि उनले बताए । त्यस्तै मतगणनामा कुनै अप्रिय घट्ना नहोस् भनेर निर्वाचनअधिकृतलाई सिसिटीभी राख्नको लागि पनि निर्देशन दिईएको उनले बताए ।




