काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा खासै प्रभाव खिएको छैन । बिहानैदेखि निर्वाधरुपमा सवारीका साधन सञ्चालनमा आएका छन् । बन्दको हल्लाले लामो दूरीका सवारी भने सञ्चालन गर्न कठिनाई भएको यातायात व्यवसायीले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकामा भने यातायात क्षेत्रमा बन्दको कुनै प्रभाव परेको छैन । निजी विद्यालयहरुले भने अघोषित रुपमा विद्यालय हरु बन्द गरेका छन् । आज बन्द आह्वान गरिएकाले नानीहरुलाई विद्यालयमा नपठाउन विद्यालय प्रशासनले अाग्रह गरेका हुन् । सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले बन्द आह्वान गरेको भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आम जनताको सम्पूर्ण सुरक्षा सरकारले लिने भन्दै बन्दको हल्लाका पछि नलाग्न गृहप्रशासनले आग्रह गरेको छ । विप्लव समूहले उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीको विरोधमा अाज बन्दकाे अाह्वान गरेको हो ।




