काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो ।
उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो । दशैँअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ ।
निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो २ः३० बजे उडेर ओसाकाबाट राति ११ः५५ बजे काठमाडौँ अवतरण गर्नेछ । वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो ।



